Techie IT
२५ कात्तिक २०८१, आईतबार

सन्दर्भः पृथ्वी दिवस, स्वस्थ धरती जिम्मा लाउने दायित्वबाट नभागौँ


आज धरती ‘ग्लोबल वार्मिङ’ जस्तो कठिन चुनौतीसँग जुधिरहेको छ । यो समस्यालाई गहिरिन नदिन संसारमा नवीकरणीय ऊर्जाको प्रयोग बढाइएको छ । जीव, जन्तु, वन, जलस्रोतको संरक्षणका लागि प्रयास भइरहेको छ । तैपनि स्थितिमा सुधार हुन सकेको देखिँदैन । हाम्रा हिमालहरू नाङ्गिदै, हिमतालहरू सुक्दै गएका छन् । जीवजन्तु, चराचुरुङ्गी लोप हुने क्रम पनि बढेको छ ।

त्यसैले हिमाल, ताल, बोटबिरुवा, जीवजन्तुको संरक्षण खातिर हरेक वर्ष २२ अप्रिललाई संसारभर पृथ्वी दिवसका रूपमा मनाउने गरिएको छ । पर्यावरणप्रति जागरुकता बढाउनु दिवसको प्रमुख उद्देश्य हो । यो वर्ष पृथ्वी दिवसको सन्देश ‘इन्भेस्ट इन आवर प्लानेट’ अर्थात् ‘हाम्रो ग्रहमा लगानी गरौँ’ भन्ने छ । सन् १९७० यता पृथ्वी दिवस मनाउने गरिएको छ । विज्ञानले हामीलाई भनेअनुसार, सम्पूर्ण सौर ग्रहमध्ये पृथ्वी मात्र एक त्यस्ताे ग्रह हाे, जहाँ जीवन छ ।

विज्ञान र प्रविधिको मद्दतमा हामीले ठूलै फड्को मारिसकेका छौँ । तर, जानेर वा नजानेर हाम्रै कारण पृथ्वीमा प्राकृतिक असन्तुलनको स्थिति पैदा भएको छ ।

केही वर्षयता भूकम्प, बाढी, सुनामीजस्ता घटना बढेका छन् । सन् २०२३ लागेयता टर्की र सिरियामा भूकम्पका कारण हजारौँ मानिस मारिए । अहिले नेपालकै जङ्गलहरू अनियन्त्रित जलिरहेका छन् । हाम्रो धरतीको ‘इको सिस्टम’मा आएको बदलाव वा तीव्र रूपमा भइरहेको जलवायु परिवर्तनका कारणले प्राकृतिक विपद्‌हरू भइरहेका छन् ।

पृथ्वी मानव अस्तित्वको आधार हो । खास कुरा त के भने, आज पृथ्वी जुन समस्यासँग जुधिरहेको छ, यहाँसम्म पुर्‍याउने मुख्य जिम्मेवार हामी नै हौँ । आजको सबैभन्दा ठूलो समस्या मानवको बढ्दो उपभोग हो । तर पृथ्वी उपभोगको वस्तु मात्र होइन । र, यसमा मान्छेको हक मात्र लाग्दैन । सँगै असङ्ख्य वनस्पती, जीव, जन्तुहरूको आश्रयस्थल पनि हो पृथ्वी ।

मानिसले प्राकृतिक संशाधनको अन्धाधुन्ध प्रयोग गरेकैले पृथ्वी संकटमा परिरहेको वैज्ञानिकहरू बताउँछन् । उनीहरूको भनाइमा हाम्रो पृथ्वीले आज आफ्नो भारभन्दा कैयौँ गुणा ज्यादा भार बोकिरहेको छ । अर्कातिर, यो संकटसँग जुध्नका लागि धेरै खालका प्रयास पनि भइरहेका छन्, जसको सकारात्मक परिणाम पनि देखिएको छ । आगामी पुस्ताका लागि याे आशाको आधार पनि हो । सानै भए पनि देखिएको आशाको दियोलाई निभ्न नदिन हामी सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्न सक्छौँ ।

आसपास बिरुवा रोपौँ

उपभोग बढ्दै गर्दा संसारभर अहिले बोटबिरुवा मास्ने काम भइरहेको छ । पर्यावरणका लागि यो घातक साबित हुन्छ । बोटबिरुवा हाम्रो जीवनका लागि महत्त्वपूर्ण छन् । त्यसैले आसपासका क्षेत्र, घरको छत, बगैँचा आदिमा बिरुवा रोप्नुहोस् । बगैँचाका लागि पर्याप्त जमिन छैन भने घरको छतमा गमला आदि राखेर पनि हुर्काउन सकिन्छ । फल र सब्जी नै किन नफलाउनुहोस् तर हरिया बोटबिरुवालाई हुर्किने मौका दिनुहोस् ।

बोतल जथाभावी नफालौँ

प्लास्टिकजन्य वस्तु हाम्रो धरतीका लागि घातक छन् । खासगरी प्लास्टिकका बोतलको प्रयोग धेरै हुन्छ । अनि जथाभावी फालिएको देखिने पनि यस्तै बोतल नै हुन्छ । धेरैजसो बोतल रिसाइकल गर्न सकिँदैन । त्यसैले यस्तो बोतललाई तपाईंले पुनः प्रयोगमा ल्याउन सक्नुहुन्छ । प्लास्टिकको बोतल वा पोलिथिनलाई सडक, नदी आदिमा फ्याँक्दै नफ्याँक्नुहोस् । सकिन्छ भने यसलाई पुनः प्रयोग गर्नुहोस्, सकिँदैन भने उचित व्यवस्थापन गर्नुहोस् । बरु यसमा तपाईंले बिरुवा रोप्न सक्नुहुन्छ वा डेकोरेटिभ आइटमका रूपमा पनि प्रयोग गर्न सक्नहुन्छ । काठमाडौं महानगरसहित कतिपय स्थानीय तहले कुहिने र नकुहिने फोहोरलाई छुट्टै राख्न बारम्बार आग्रह गर्दै आएका छन् । यस अपिललाई मानिदिनुभयो भने पनि धरतीका लागि तपाईंको योगदान बन्छ नै ।

सम्भव भएसम्म साइकल चढ्नुहोस्

हाम्रो देशमा निर्मित वा निर्माणाधीन विकासका पूर्वाधार पर्यावरण संरक्षणको मर्मसँग जोडिएको पाइँदैन । त्यसैले काठमाडौंजस्तो ठाउँमा साइकल त के, पैदल हिँड्नसमेत हम्मेहम्मे पर्छ । देशको राजधानी काठमाडौं संसारकै प्रदूषित शहरका रूपमा बदनाम छ । यो सबै हाम्रो नेतृत्वपङ्क्ति दूरदर्शी नहुँदाको परिणाम हो । तर, सधैँ धारे हात मात्र लाएर हामी उम्किन सक्दैनौँ । नेतृत्व हामीले नै छानेका हौँ, यसको जिम्मेवारी हामी पनि हौँ । त्यसैले अब गर्ने सक्ने काम आफ्नो तहबाट गर्नुपर्छ । तपाईं पर्यावरण संरक्षणमा सघाउन चाहनुहुन्छ भने सम्भव भएसम्म साइकल चढ्ने गर्नुहोस् । यसले पृथ्वीको स्वास्थ्यलाई मात्र होइन, तपाईंको स्वास्थ्यलाई पनि फाइदै गर्छ । बाइक, कार, अटो, ट्याक्सीबाट यात्रा गर्दा पेट्रोल र डिजेलको खपत बढ्नुका साथै गाडीबाट निस्कने धुवाँले मानिसको स्वास्थ्य र पर्यावरणमा असाध्यै नकारात्मक असर पार्छ ।

आगामी पुस्तालाई स्वस्थ धरती जिम्मा लाउने दायित्वबाट हामी भाग्न मिल्दैन । त्यसैले जसले जहाँबाट जति सक्छौँ, पर्यावरण संरक्षणमा योगदान गरौँ । विश्व पृथ्वी दिवसको शुभकामना ।

(यो सामग्री शिलापत्र डटकमबाट साभार गरिएको हो ।)


क्याटेगोरी : ताजा अपडेट


तपाईको कमेन्ट लेख्नुहोस्