Techie IT
१२ जेठ २०८१, शनिबार

‘जलवायु परिवर्तनले मानसिक स्वास्थ्य समस्या निम्त्याउँदैछ’-मनोविद् गोपाल ढकाल


जलवायु परिवर्तनका कारण पनि मानिसमा ‘डिप्रेसन’ र ‘एङ्जाइटी’लगायत मानसिक समस्याको जोखिम हुन्छ?
मानसिक स्वास्थ्यमा असर गर्ने थुप्रै कारण छन्, मान्छेपिच्छे फरक कारणहरू हुन्छन्। तीमध्ये मौसम परिवर्तन पनि एक हो। सामान्य मौसम परिवर्तनमा समेत मानिसको स्वभाव र व्यवहार एकै हुँदैन। मौसमअनुसार भावना परिवर्तन भइरहेको हुन्छ, पारिलो घाम लाग्दा वा मौसम खुलेका बेला मन फुरुङ्ग हुन्छ। बादल लागेर मौसम धुम्म हुँदा कतिपयको मन दुखी हुन्छ। लामो समय मौसममा परेको नकारात्मक प्रभावले मानिसहरूको सोचमा असर पुर्‍याउन सक्छ र कालान्तरमा उसको मानसिक स्वास्थ्यमा नै असर पर्न सक्छ। पछिल्लो समय जलवायु परिवर्तनका कारण पनि मानसिक स्वास्थ्यमा प्रभाव पर्नसक्ने सम्भावना बढ्दै गएको छ।

जलवायु परिवर्तनका कारण मानसिक स्वास्थ्यमा गडबडी भएको कसरी थाहा पाउने? यसका असर कस्ता हुन्छन्?
जलवायु परिवर्तनले विश्वकै मौसमलाई प्रभावित पारिरहेको छ। नेपालमा पनि प्रभाव देखिँदैछ। नेपालका अधिकांश क्षेत्रमा लामो समय खडेरी पर्ने, पानीका मुहान सुक्ने, बेमौसममा पानी र हिउँ पर्ने तथा बाढी पहिरोका घटना भइरहेका छन्। मौसम परिवर्तनका प्रभावले मानिसको दैनिक जीवन प्रभावित हुन थालेको छ। यस्तोमा चाँडै रिसाउने, आक्रोशित हुने, उत्तेजित हुनेजस्ता समस्या सिर्जना हुन सक्छन्, मानिसको स्वभाव र उसले गर्ने व्यवहार नै परिवर्तन हुन सक्छ।

चाँडै रिसाउने, आक्रोशित हुने, उत्तेजित हुनेजस्ता समस्या सिर्जना हुन सक्छन्, मानिसको स्वभाव र उसले गर्ने व्यवहार नै परिवर्तन हुन सक्छ।

जाडो मौसममा कतिपय मानिसमा निराशा छाउने गर्छ, मान्छेमा दु:खी हुने, निद्रा नलाग्ने, काममा मन नलाग्नेजस्ता समस्या देखा पर्छन्। जसले गर्दा पछि एङ्जाइटी, डिप्रेसनलगायत समस्या निम्तिन सक्छ।

जलवायु परिवर्तनले मानसिक स्वास्थ्यमा पार्ने प्रभावबारे नेपालमा अध्ययन भएका छन्?
नेपालमा यसबारे अध्ययन अनुसन्धान भएको छैन, तर विदेशमा भएका अनुसन्धानहरूमा मौसम परिवर्तनका कारण मानसिक स्वास्थ्यमा असर पर्ने देखाएको छ। कतिपय अवस्थामा मौसमकै कारण मानसिक स्वास्थ्यमा असर परेको भनेर यकिनका साथ भन्न भने सकिँदैन। तर, जाडो मौसममा यस्ता समस्याहरू लिएर मानिसहरू धेरै आउने गरेका छन्। चिसो मौसममा मानसिक स्वास्थ्यका बिरामीको चाप अस्पतालमा बढ्ने गरेको छ। त्यस्तै गर्मीमा यो चाप कम हुन्छ। एङ्जाइटीको समस्या जुनै समयमा पनि हुने गर्छ। अस्पतालमा मौसमका कारण डिप्रेसन हुने बिरामीभन्दा पनि धेरै एङ्जाइटी भएका बिरामी आउने गरेका छन्।

कुन उमेर समूहका व्यक्तिहरूमा बढी एङ्जाइटी देखिन्छ?
यही उमेर समूह भनेर तोक्न सकिँदैन तर यस्ता समस्या बालबालिका, किशोर किशोरीहरूमा बढी देखा पर्ने गरेको छ। यीमध्ये पनि अलि बढी समस्या युवायुवतीमा देखिएको छ। किनकि, अस्पतालसम्म उनीहरू नै बढी आइपुग्छन्।

नेपालमा यो उमेर समूहको जनसंख्या बढी छ। त्यस्तै, जनचेतनामा पनि उनीहरू नै अगाडि भएकाले आफूमा भएका समस्या छुट्याउन सक्ने क्षमता हुन्छ। अरू उमेर समूहका मानिसमा यसको समस्या हुँदैन भन्ने होइन, तर उनीहरू चेतनाको कमी र ‘लाज’का कारण अस्पताल आइपुग्दैनन्। बालबालिका र वृद्धले आफूलाई के भइरहेको छ भनेर छुट्याउन सकिरहेका हुँदैनन्। त्यसैले, यस्ता व्यक्तिहरू आफ्नो समस्याप्रति अनभिज्ञ हुन्छन् र अस्पताल नै पुगिरहेका हुँदैनन्। नत्र यो समस्या सबै उमेर समूहका व्यक्तिमा हुन सक्छ।

त्यो अनुसन्धानले सबैभन्दा बढी मानसिक रोग १६ वर्ष उमेर समूहमा भएको देखायो। यसको मतलब मानसिक समस्या किशोर किशोरीमा नै बढी देखिन्छ।

सन् २०२० मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मानसिक स्वास्थ्यसम्बन्धी सर्वेक्षण गरेको थियो। त्यो अनुसन्धानले सबैभन्दा बढी मानसिक रोग १६ वर्ष उमेर समूहमा भएको देखायो। यसको मतलब मानसिक समस्या किशोर किशोरीमा नै बढी देखिन्छ। बालबालिकामा ५० प्रतिशत मानसिक रोग १४ वर्ष पुग्दापुग्दै शुरू हुन्छ। त्यस्तै, ७५ प्रतिशत मानसिक समस्या २४ वर्ष पुग्दानपुग्दै शुरू भइसकेको हुन्छ।

जलवायु परिवर्तनका कारण हुने मानसिक समस्या कम गर्न व्यक्तिगत र सरकारी तवरबाट के गर्न सकिएला?
नेपालमा मानसिक स्वास्थ्य समस्याका विषयमा जनचेतनाको कमी छ। विद्यालय पाठ्यक्रममा यो विषय समेटिएको छैन। पढेलेखेकै परिवारमा यो समस्याबारे चर्चा हुँदैन। आफूमा मानसिक स्वास्थ्य समस्या छ भनेर स्विकार्न व्यक्ति डराउँछ वा लजाउँछ। परिवारले पनि त्यस्ता व्यक्तिका समस्या बुझ्दैनन्। समस्यामा रहेका व्यक्तिलाई नै परिवार र समाजले नराम्रो सोच्छन्। खुलेर समस्याबारे कुरा नगरी र समाधान नखोजी यो समस्याको समाधान हुँदैन।

त्यसका लागि विद्यालय तहदेखि नै बालबालिकालाई मानसिक स्वास्थ्य समस्याबारे शिक्षा दिनुपर्छ। यसबारे समाजमा जनचेतना फैलाउने कार्यक्रम गर्नुपर्छ। मानसिक स्वास्थ्यका लागि सरकारले कम लगानी गर्ने गरेको छ, तर अब यो क्षेत्रमा लगानी बढाउनुपर्छ। यस क्षेत्रमा काम गर्ने जनशक्तिको पनि अभाव छ। मनोचिकित्सकको संख्या झन्डै २०० हाराहारी छ, त्यसो हुँदा मनोचिकित्सक-जनशक्ति पनि बढाउनुपर्छ।

मनोचिकित्सकको संख्या झन्डै २०० हाराहारी छ, त्यसो हुँदा मनोचिकित्सक-जनशक्ति पनि बढाउनुपर्छ।

मानिसले आफ्नो स्वास्थ्यबारे आफैँले ध्यान दिनुपर्छ। आफूमा भएको समस्या लुकाउनु हुँदैन। समस्या लुकाउनाले डिप्रेसन निम्तन सक्छ। मानसिक समस्याको बेलैमा उपचार गर्नुपर्छ। घर परिवार र समाजले पनि यस्ता समस्याहरूबारे ख्याल गर्नुपर्छ।

(२०७९ फाल्गुन १५ मा उकालोडट कममा प्रकाशित सामग्रीबाट साभार)


क्याटेगोरी : ताजा अपडेट


तपाईको कमेन्ट लेख्नुहोस्