Techie IT
५ फागुन २०८१, सोमबार

समुद्री सतहका बस्ती उच्च जोखिममा, तटीय देशहरु डुब्ने संभावना


काठमाडौं । संयुक्त राष्ट्रसंघको पछिल्लो प्रतिवेदनले समुद्री जलस्तर दोब्वर गतिमा बढिरहेको तथ्य सार्वजनिक गरेको छ । यसले समुद्र सतहमा रहेका बस्तीको जोखिम उच्च बढाउने छ भने तटीय देशहरु डुब्न सक्ने संभावनायुक्त खतराका दिनहरु आउने भएका छन् ।

सन् १९९३ देखि २००२ सम्म समुद्रमा जति जलस्तरमा वृद्धि भयो सन् २०१३ देखि २०२२ को बीचमा त्यो भन्दा दोब्बर गतिमा समुद्री सतह बढेको छ । गतवर्ष त यो किर्तिमानी स्तरमा पुगेको थियो । प्रतिवेदन अनुसार यो शताब्दीको अन्त्यसम्ममा समुद्री सतहको वृद्धिदर यहीँ गतिमा वा यसभन्दा पनि तिव्र गतिमा रहनेछ ।

विश्व उष्णिकरण मुख्य कारण
संयुक्त राष्ट्रसंघीय एजेन्सी विश्व मौसम विज्ञान संगठनका अनुसार समुद्री सतहमा भैरहेको वृद्धिको प्रमुख कारण विश्व उष्णिकरण हो । तापमान वृद्धिका कारण पृथ्वीमा रहेका हिमनदीहरु पग्लिरहेका छन् र सामुद्रिक तापक्रममा पनि वृद्धि भएको छ । यसबाट पानीको फैलावट बढिरहेको छ । सन् २०१३ देखि २०२२ को बीचमा समुद्री जलस्तर हरेक वर्ष ४.६२ मिलिमिटरको दरले बढेको छ । यो सन् १९९३ देखि २००२ को दरभन्दा दोब्बर बढी हो ।

विश्व मौसम संगठनका महासचिव पेटेरी टालसले हिमनदीहरु पग्लिनु तथा समुद्री जलस्तर तिव्र रुपमा बढ्नु निकै खतरनाक प्रक्रिया भएको उल्लेख गरेका छन् । यसको कारकतत्व चाहीँ धेरै मात्रामा हरितगृह ग्यास उत्सर्जन हुनु हो । यो शताब्दीभर नै सामुद्रिक जलस्तर बढ्ने क्रम कायमै हुनेछ र त्यसपछि पनि आउँदो हजारौं वर्षसम्म समुद्री जलस्तरमा बढोत्तरी भैरहने विश्व मौसम संगठनको प्रतिवेदनमा उल्लेख छ ।

सामुद्रिक जलस्तरको वृद्धिले विभिन्न तटीय मुलुकहरु खतरामा परिरहेका छन् । यसबाट तुभालु जस्ता टापु मुलुकहरु सबैभन्दा धेरै खतरामा छन् । सामुद्रिक जलस्तरमा वृद्धि हुँदा यस प्रकारका टापुहरु पृथ्वीको नक्साबाटै हराउनेछन् ।
अन्टार्कटिकाको बरफ गतवर्ष जुन र जुलाई महिनामा तिव्र गतिमा पग्लियो । सामुद्रिक हिटवेभहरु जमिनको तुलनामा ५८ प्रतिशत अधिक थिए । जसका कारण ध्रुवीय इलाकाहरुमा तिव्र गतिमा बरफ पग्लिहेको छ ।

गर्मीले युरोपमा १५ हजारको मृत्यु
एक तथ्यांक अनुसार गतवर्ष युरोपमा हिटवेभ अर्थात् अत्यधिक गर्मी तापक्रमका कारण कम्तिमा १५ हजार जनाको मृत्यु भएको थियो । यो खतरनाक खराब मौसमको स्थिति सन् २०६० सम्म कायमै रहनेछ । यदि कार्वन उत्सर्जनलाई नघटाएमा अवस्था झनै खराब हुनेछ । यद्यपि यसलाई अझै पनि सुधार गर्न सकिन्छ ताकि आगामी पुस्तालाई यस प्रकारको समस्या नहोस् ।

वैज्ञानिकहरुका अनुसार तापक्रममा डेढ डिग्री सेल्सियसको वृद्धिले पनि आगामी केही दशकहरुमा धेरै समस्या ल्याउनेछ । जसका कारण मौसममा यतिधेरै परिवर्तन हुनेछ कि विभिन्न देशहरुले समस्याको सामना गर्नुपर्नेछ । मौसम संगठनका अनुसार बितेको वर्ष सन् २०२२ इतिहासकै पाँचौँ गर्मी वर्ष रह्यो र गतवर्षको तापमान औद्योगिक युग पूर्वको समयभन्दा १.१५ डिग्री सेल्सियस धेरै थियो ।

मौसम चिस्याउने ला निना भनिने सामुद्रिक गतिविधि सक्रिय रहेको अवस्थामा समेत गतवर्ष तापक्रम वद्धि उच्च तहमा हुनुलाई वैज्ञानिकहरुले खतराको संकेत भनेका छन् । त्यसैले यो वर्ष सन् २०२३ तथा आगामी सन् २०२४ मा विश्वको औषत तापक्रमले रेकर्ड तोड्नसक्ने अनुमान गरिएको हो । यसका लागि जलवायु परिवर्तन र समुद्रको तातो मौसमी प्रक्रिया अर्थात् एल निनो प्रमुख कारकको रुपमा हुनेछन् ।

– एजेन्सीको सहयोगमा


क्याटेगोरी : ताजा अपडेट, विपद्
ट्याग : ##जलवायु परिवर्तनको प्रभाव

तपाईको कमेन्ट लेख्नुहोस्