Techie IT
२५ कात्तिक २०८१, आईतबार

पानी माग्न गाउलेबाट जलधारा


गोरखा — खडेरी लम्बिँदै जाँदा मकै छर्न नपाएका पालुङटार नगरपालिका–४ का स्थानीयले पानी पर्ने आशामा आकाश हेर्दै बसिरहे । पानी पर्ने आशामा रोपिएका मकै पनि उम्रिएनन् । खडेरीले आक्रान्त बनेपछि पानी पर्ने आशामा शनिबार बडडाँडा र पण्डितगाउँवासीले पञ्चेबाजा बजाउँदै जलधारा गरेका छन् ।

मर्स्याङ्दी र चेपे नदीको संगमस्थल चेपेघाटमा भेला भएर पूजाआजा गरेर जलधारा गर्दै पानी मागेका हुन् । स्थानीय ६० वढी घरधुरीले शुक्रबार गाउँभेला गरी प्रतिघर २ सय रुपैयाँ संकलन गरेर जलधारा कार्यक्रमको व्यवस्थापन मिलाएका थिए । ‘अहिलेको वर्ष खडेरी पर्‍यो, पानी नपरे जलधारा गर्ने हाम्रो परम्परा हो,’ स्थानीय कृष्णप्रसाद भट्टले भने, ‘एक महिना आकाश हेरेर बितायौँ । वैशाख सकियो, पानी पर्ने छाँट नदेखेपछि जलधारा गरेका हौं ।’

यो वर्ष सात/आठ महिना भइसक्यो पानी परेन,’ उनले भने, ‘शनिबारको दिन साइत जुराएर जलधारा गरेका हौं ।’ पानी नपर्दा बाँझो खेत जोत्नसमेत नपाएको उनले दुखेसो पोखे । ‘घैया/मकै लगाउने बेला छ, सुक्खा भएर जोत्न सकिएन,’ उनले थपे, ‘केहीले लगाएको मकै उम्रिएर सुक्न थाल्यो, जमिनमा चिस्यान नहुँदा कति किसान बीउ नउम्रिएरै हैरानीमा छन् ।’

‘विधि विधानअनुसार नै जलधारा गरेका हौं, होमहोमादी गर्‍यौं,’ स्थानीय श्यामप्रसाद देवकोटाले भने, ‘पुर्खादेखि चल्दै आएको चलन हो, विश्वास लाग्छ ।’ इच्छुक र विश्वास गर्ने व्यक्तिले घरबाहिर गाग्रीमा पानी राख्छन् । गाग्रीको पानीले परिवारका सदस्यलाई रुझाउँदै, नाचगान गरेर जलधारा गर्दै अघि बढ्ने श्यामप्रसादले बताए । पुस्तौंदेखिको परम्परालाई निरन्तरता दिने अवसरका रूपमा पनि जलधारालाई लिएको उनले सुनाए । ‘इन्द्र र शिवजीलाई खुसी पारे पानी पर्छ भन्ने पुर्ख्यौली चलन हो, परम्परालाई निरन्तरता दिन पनि पायौं, यस्ता कुरा पछिल्ला पुस्ताले पनि सिक्ने अवसर पाए,’ बडडाँडाका दण्डपाणि पौडेलले भने ।

स्थानीय रीतिअनुसार नदीतटमा पुगेर जलधारा गर्ने प्रचलन रहेको उनले बताए । ‘नदीतट वा जलाशयमा पीपलको पातमा ‘क’ लेखेर बगाइदिने, होमहोमादी गर्ने प्रचलन छ, फर्कंदा बाटोमा पानी छ्याप्दै घरमा पुगेर पनि परिवारका सदस्य र गाउँले भेला भएर छ्यापाछ्याप गर्ने प्रचलन छ,’ पौडेलले भने, ‘यसो हुँदा भगवान् खुसी हुन्छन् भन्ने पुर्खादेखिको विश्वास हो ।’ जलधारा गर्दा विधि र प्रक्रिया पुर्‍याउनुपर्ने स्थानीय ६३ वर्षीय चिरञ्जीवि गिरीले बताए । माटो भिज्ने पानीसम्म नपरेपछि परम्पराअनुसार नै सबै विधिविधान पूरा गरेर पूजा गरिएको रोहिणीप्रसाद पौडेल बताउँछन् ।

श्रोत कान्तिपुर, बैशाख ३०


क्याटेगोरी : ताजा अपडेट, प्रयासहरु, विपद्


तपाईको कमेन्ट लेख्नुहोस्