हल्का नसोचौः १२ जटिल प्रभाव जसले मानव सभ्यता नै खतरामा पर्न सक्छ
विश्व उष्णीकरण तथा जलवायु परिवर्तनले विश्वमा विभिन्न खाले भयानक असरहरु देखाउन थालिसकेको छ ।
वैज्ञानिकहरुका अनुसार तापमान वृद्धिको यो दरलाई कम गर्न नसकिएमा यो शताब्दीको अन्त्यसम्ममा हामीले विध्वंशकारी नतिजाहरु भोग्नुपर्नेछ, जसले मानव सभ्यतालाई नै खतरामा पार्न सक्दछ
वैज्ञानिकहरुले विश्वमा जलवायु परिवर्तन तथा उष्णीकरणले पारेका प्रभावहरुको बारेमा निरन्तर अध्ययन अनुसन्धान गरिरहेका छन् । वैज्ञानिकहरुको शोधका आधारमा जलवायु परिवर्तनका १२ वटा अकल्पनीय तथा अनौठा असरहरु यस्ता छन् :
बढ्दैछ हवाईयात्रामा झट्का : जलवायु परिवर्तनको कारणबाट हावाको वायुमण्डलीय लहरमा परिवर्तन देखिन थालेको छ । एक अध्ययन अनुसार सन् १९७९ देखि २०२० सम्ममा लगातार एयर टर्बुलेन्स बढिरहेको छ ।
सन् १९७९ मा यो १७.७ घण्टा रहेकोमा सन् २०२० मा बढेर २७.४ घण्टा पुगेको छ । त्यस्तै मध्यमस्तरको टर्बुलेन्स ३७ प्रतिशतले बढेको छ । त्यसले अब हवाईयात्रुले जहाजमा यात्रा गर्दा आकाशमा जहाज हल्लिएर धेरै झट्का खप्नुपर्नेछ । यसले हवाई यात्रुमा त्रासको अवस्था सिर्जना गर्नेछ ।
घट्दैछ भ्यागुताको आकार : विश्वको तापक्रम बढ्दै जाँदा भ्यागुताका कतिपय प्रजातिहरुको शरीरको आकार पनि सानो हुँदै गएको छ । पुर्टोरिकोमा भाले कोकुइ भ्यागुता सानो बन्दै गएको शोधकर्ताहरुले पत्ता लगाएका छन् ।
पहिले यो भ्यागुता पहाडको माथिल्लो भागमा बस्दथ्यो । तर अहिले जीउ सानो हुँदै गएपछि माथिबाट तल्लो इलाकामा झर्न थालेको छ । पछिल्लो २ दशकमा यस्तो परिवर्तन देखिएको शोधकर्ताहरुको भनाइ छ ।
निद्रा कम हुँदै : शोधकर्ताहरुका अनुसार सन् २०१० सम्म विश्वका मानिसहरुको औसत वार्षिक निद्रा ४४ घण्टा कम भैसकेको थियो । यहीँ अवस्था कायम हुँदा यो शताब्दीको अन्त्यसम्ममा अर्थात् सन् २१०० सम्ममा यो बढेर ५८ घण्टा हुनेछ । मानिसमा निद्राको समय घट्नुको प्रमुख कारण तापमान वृद्धि नै हो ।
बढ्दैछ कुकुरको टोकाइ : गर्मी बढेसँगै मानव समुदायमा समेत हिंसा तथा अपराधका घटनामा वृद्धि हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।
उष्णीकरणले केवल मानिसमा मात्र होइन कुकुरमा समेत हिंश्रकता बढाएको पछिल्लो एक अध्ययनको निष्कर्ष छ । जसका कारण कुकुरले मान्छेलाई टोक्ने घटनामा वृद्धि भैरहेको छ । सो अध्ययन अनुसार जलवायु परिवर्तनका कारण कुकुरले टोक्ने घटनामा ११ प्रतिशतको बढोत्तरी भएको छ । सो अध्ययनले अमेरिकामा विभिन्न ८ सहरमा गरी कुकुरले टोकेका ७० हजार घटना भएको देखाएको थियो ।
बढ्दैछ चट्याङको प्रकोप : जलवायु परिवर्तनका कारण विश्वभर नै चट्याङको ढाँचामा परिवर्तन हुन थालेको छ । चट्यांग पर्ने दरमा वृद्धि हुँदा जंगलमा डढेलो फैलिने क्रम पनि बढ्ने शोधकर्ता बताउँछन् ।
चट्यांग सिर्जित डढेलोको संख्यामा ४० प्रतिशतले वृद्धि हुनसक्ने शोधकर्ताको अनुमान छ । एक अध्ययन अनुसार तापमानमा १.८ प्रतिशलते वृद्धि हुँदा चट्यांगको संख्यामा १० प्रतिशतले वृद्धि हुन्छ ।
मान्छेमा जन्मदर घट्ने : तापमान वृद्धिले विश्वमा बच्चा जन्मिने दरमा समेत कमी आउनेछ । औसत तापमान २६.७ डिग्री भन्दा धेरै हुँदा जन्मदरमा ०.४ प्रतिशतले कमी आउने एक अध्ययनले देखाएको छ । बढ्दो तापमानले मानिसको प्रजनन क्षमतामा असर पार्नेछ । यसले पुरुषको शुक्रकिटको चलायमानतामा कमी आउँछ ।
छेपारोले लिंग बदल्दै : अष्ट्रेलियामा सेन्ट्रल बियर्डेड ड्रागन नामक छेपारोले आफ्नो लिंग परिवर्तन गरिरहेको पत्ता लागेको छ । वास्तवमा अण्डाको विकासका लागि उपयुक्त तापमान आवश्यक पर्दछ ।
तापमानमा वृद्धि हुँदा अण्डाबाट पोथी छेपारो मात्रै कोरलिए निस्किने क्रम बढेको पाइएको छ । तापक्रम वृद्धिले छेपारोको सेक्स क्रोमोजोममा असर पारिरहेको र भ्रूणको विकासकै क्रममै अधिकांश भ्रूण पोथी बन्ने क्रम बढेको छ ।
बढ्दो एलर्जी : बढ्दो तापमानले विश्वमा वसन्त ऋतुको समय पनि बढ्नेछ । यसका कारणले हावामा वनस्पतीका परागकणहरु धेरै फैलिनेछन् । यसबाट मानिसहरुमा एलर्जीको समस्या पनि बढ्ने शाधकर्ताहरुको ठहर छ ।
एक अध्ययन अनुसार सन् १९९० देखि २०१८ सम्ममा एलर्जी हुने दिनहरुमा वृद्धि भएको छ भने हावामा परागकणको मात्रामा पनि त्यस्तो समयमा २१ प्रतिशतले बढी हुने गरेको छ ।
पृथ्वीको प्रकाश कम हुने : तापमानले वृद्धिले पृथ्वीले परावर्तन गर्ने सूर्यको प्रकाशमा कमी आउनेछ । शोधकर्ताहरुले सन् १९९८ देखि २०१७ सम्म पृथ्वीको प्रकाशको तथ्यांक विश्लेषण गर्दा पृथ्वीबाट चन्द्रमामा पर्ने प्रकाशमा कमी आएको देखिएको छ । पूर्वी प्रशान्त महासागरको माथि परावर्तन गर्ने बादल कम बनिरहेको अध्ययनले देखाएको छ ।
ज्वालामुखीमा वृद्धि : तापमान वृद्धिले पृथ्वीमा ज्वालामुखी विस्फोट हुने संख्यामा पनि वृद्धि हुनेछ । गर्मी बढ्दै जाँदा हिउँ तथा बरफ पग्लिने दर पनि बढ्दछ । तातो चट्टान तथा म्याग्मासँग मिलेर ज्वालामुखी विस्फोट बढाउँदछ । किनकि पग्लिँदो बरफका कारण ज्वालामुखीहरुको भित्र बबल्सहरु बन्नेछन् जुन विस्फोटको कारण हुनेछन् । तापमान घट्दा ज्वालामुखी विस्फोटमा कमी आउने तथ्य वैज्ञानिकहरुले आइसल्याण्डमा गरेको एक अध्ययनबाट पुष्टि गरिसकेका छन् ।
कफी उत्पादनमा कमी : जलवायु परिवर्तनका कारण सन् २०५० सम्ममा विश्वमा कफी उत्पादन गर्ने भूमि आधाले घट्नेछ । विश्व तापमान १.५ डिग्री, २.४ डिग्री वा ४ डिग्री सेल्सियसले बढ्दा कफीको उत्पादनमा ५० प्रतिशतले गिरावट आउनेछ । यसबाट ब्राजिल, भियतनाम, इण्डोनेसिया तथा कोलम्बिया जस्ता देशहरु सबैभन्दा धेरै प्रभावित हुनेछन् ।
घट्नेछ बाख्राको जीउ : शोधकर्ताहरुका अनुसार इटालियन एल्प्स पहाडमा बस्ने बाख्राको सरीरको आकार घट्दै गएको छ । यसको कारणचाहिं तापमान वृद्धि हो ।
सन् १९७० देखि २०१० सम्म त्यहाँका बाख्राको शरीरको नापजाँच गरिएको थियो । त्यसक्रममा तापमानमा भएको वृद्धिसँगै अल्पाइन केमाइस जातको बाख्राको शरीरको वजन २५ प्रतिशतले घटेको पाइएको छ । गर्मीमा यी बाख्राले कम खाने र धेरै आराम गर्ने गर्दा वृद्धि विकासमा असर पुग्ने गर्दछ ।
एजेन्सीको सहयोगमा
क्याटेगोरी : ताजा अपडेट
ट्याग : ##क्लाइमेटखबर, ##जलवायु समाचार, ##जलवायुपरिवर्तनको असर, #नेपाल
तपाईको कमेन्ट लेख्नुहोस्