जलवायु परिवर्तन विश्लेषणका लागि आयो नयाँ मापदण्ड
हावापानी तथा जलवायु विश्लेषणका लागि विश्व मौसम विज्ञान सङ्गठनले नयाँ मापदण्ड जारी गरेको छ । सो सङ्गठन र वातावरणीय सूचनाका लागि अमेरिकी राष्ट्रिय केन्द्रले संयुक्त रूपमा अद्यावधिक गरेर विश्वव्यापी प्रयोगका लागि यही श्रावणको अन्त्यमा नयाँ मापदण्ड जारी गरेको हो ।
दुई वर्षको अध्ययनपछि सो मापदण्ड जारी गरिएको हो । यस मापदण्डले यसअघिको सन् १९८१–२०१० को मापदण्डलाई विस्थापित गरेको छ । यसलाई ‘डब्लुएमओ क्लाइमेटोलोजिकल स्ट्यान्डर्ड नम्र्स १९९१–२०२०’ नाम दिइएको छ । यस मापदण्डले उपलब्ध दिन, हप्ता, महिना वा वर्ष औसतभन्दा न्यानो वा चिसो छ वा छैन भनेर मूल्याङ्कन गर्न ३० वर्ष लामो आधाररेखा उपलब्ध गराउँछ । जसलाई जलवायु मानक भनिन्छ।
नयाँ मापदण्डले उपलब्ध गराएका तथ्य ३० वर्षको अवधिमा जलवायुसम्बन्धी तथ्याङ्कको औसतका रूपमा लिइने छ । सङ्गठनका अनुसार यो मापदण्ड बनाउन विश्वका १४० भन्दा बढी देश, हजारौँ भूगोल तथा स्थानबाट तथ्याङ्क सङ्कलन गरी औसत तथ्य अद्यावधिक गरिएको हो । नयाँ मापदण्डले जलवायु परिवर्तनको अनुगमन र जलवायु संवेदनशील क्षेत्रको अध्ययन तथा विश्लेषण गर्न सघाउने छ । हरेक १० वर्षमा यी मापदण्ड अद्यावधिक गरिनुपर्ने हुन्छ ।
हरितगृह ग्यासको बढ्दो वायुमण्डलीय आद्रताले पृथ्वीको मौसम पहिलेको तुलनामा धेरै छिटो परिवर्तन भइरहेको छ । परिणामस्वरूप मौसम विज्ञानसम्बन्धी निकाय, जलवायु–संवेदनशील क्षेत्रका साथै पानी व्यवस्थापन, ऊर्जा, स्वास्थ्य, कृषि र पशुपालन उद्योगमा त्यसको असर पर्छ । त्यसको अनुकूलनका लागि नयाँ आधार मापदण्डको प्रयोग गरेर मौसमको पूर्वानुमान गर्ने, बाली छनोट र रोपणको समय तय गर्नेलगायतका नीति तथा योजना बनाउन सकिने उक्त संगठन ले जनाएको छ ।
यसको चलनचल्तीका लागि आफ्नो सदस्य मुलुकलाई जानकारी दिँदै आवश्यक सहयोग उपलब्ध गराउने सङ्गठनले उल्लेख गरेको छ । यो मानक पहिलेको भन्दा गुणस्तरीय रहनुका साथै व्यवस्थित गरिएकाले पनि मौसम र जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय समुदाय र सङ्गठनका सदस्यको आवश्यकता पूरा गर्न सक्षम रहेको वातावरणीय सूचनाका लागि अमेरिकी राष्ट्रिय केन्द्रका मौसमविद् जे लरिमोरले बताएका छन् ।
तथापि मौसमको ऐतिहासिक तुलनात्मक अध्ययन गर्न र जलवायु परिवर्तन अनुगमन गर्दै साझा एवं सापेक्ष विश्वव्यापी जलवायु विसङ्गतिको गणना तथा अद्यावधिक गर्न सन् १९६१–१९९० को अवधिको मानकलाई निरन्तरता दिन सङ्गठनले सिफारिस गरेको छ ।
सङ्गठन आफैँले पनि आफ्नो वार्षिक जलवायु प्रतिवेदनमा विश्वव्यापी तापमान वृद्धिको प्रवृत्ति पत्ता लगाउन पूर्वऔद्योगिक युग समेटिएको सन् १८५०–१९०० को मानक प्रयोग गर्दै आएको जनाएको छ । जुन सङ्गठन बन्नुभन्दा अघिको मौसम अध्ययन गर्ने अन्तर्राष्ट्रिय मौसम सङ्गठनले तयार पारेको थियो ।
सङ्गठनका मौसम वैज्ञानिक पियर हेचलरका अनुसार यसरी अद्यावधिक गरिने मानकले नयाँ मौसम केन्द्रलाई समावेश गरेर काम गर्न सहज बनाउँछ तर नेपाल जस्ता विकासोन्मुख र कम विकसित मुलुकका लागि क्षमताका हिसाबले सङ्कलन र प्रशोधन कार्य चुनौतीपूर्ण हुने छ ।
क्याटेगोरी : ताजा अपडेट, विपद्
तपाईको कमेन्ट लेख्नुहोस्