Techie IT
२५ कात्तिक २०८१, आईतबार

जलवायुजन्य हानि र नोक्सानी कोषको व्यवस्थापन र अनुकूलन

जलवायु वित्त, अनुकूलन, जलवायुजन्य हानि र नोक्सानीका लागि कोषको व्यवस्थापन, हिमाल र पर्वतीय मुद्दा, उत्सर्जन कटौती र समावेशीतालगायत सवालमा केन्द्रित भई राष्ट्रिय स्थितिपत्र तयार गर्दैछ


काठमाडौँ । आगामी मङ्सिर १४ देखि २६ गते  सम्म दुबईमा हुने कोप २८ मा नेपालले उठाउनु पर्ने सवालबारे राष्टिय स्थिति पत्र तयार पार्न लागेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । त्यस्ता सवालमा जलवायु वित्त, अनुकूलन, जलवायुजन्य हानि र नोक्सानीका लागि कोषको व्यवस्थापन, हिमाल र पर्वतीय मुद्दा, उत्सर्जन कटौती र समावेशीतालगायत सवालमा केन्द्रित भई राष्ट्रिय स्थितिपत्र तयार गर्दैछ । यसका लागि नेपालले सम्मेलनमा सहभागिताको मार्गचित्रबमोजिम विभिन्न काम गरिरहेको मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा बुद्धिसागर पौडेलले राससलाई बताएका छन् ।

आगामी सम्मेलनमा विश्वस्तरमा ऊर्जा सङ्क्रमण र न्यूनीकरण, तापमान वृद्धि एक दशमलव पाँच डिग्रीमा सीमित गर्न कडाइ गर्ने, जलवायु वित्त वितरण, जलवायु परिवर्तनमा देखिएका समस्याको प्राकृतिक आधारमा समाधान गर्ने कार्ययोजना, सम्मेलनलाई पूर्ण समावेशीतालगायत विषयलाई प्राथमिकतामा राखिने गरी तयारी भइरहेको युएनएफसिसिसीको सचिवालयले पनि जनाएको छ ।

सचिवालयको तालिकाअनुसार सम्मेलनको उद्घाटन कार्यक्रम ३० नोभेम्बरमा हुनेछ । डिसेम्बर १ र २ मा विश्व जलवायु कार्य सम्मेलन, डिसेम्बर ३ मा स्वास्थ्यरराहत, पुनस्थापना र शान्ति विषयक सत्र, डिसेम्बर ४ मा वित्त–व्यापार–लैङ्गिक समानता र उत्तरदायित्व, डिसेम्बर ५ मा ऊर्जा, उद्योग र सङ्क्रमणसम्बन्धी सत्र, डिसेम्बर ६ मा बहुस्तरीय कार्य, सहरीकरण र वातावरण निर्माण, यातायात विषयका सत्र सञ्चालन हुनेछन ।

यसैगरी डिसेम्बर ८ मा युवा, बालबालिका, शिक्षा र सीप, डिसेम्बर ९ मा प्रकृति, जग्गाको प्रयोग र समुद्रिक विषयक सत्र, डिसेम्बर १० मा खाद्य, कृषि र पानी विषयक सत्र तथा डिसेम्बर ११ र १२ तारिखमा अन्तिम वार्ता हुने तालिका रहेको छ । सम्मेलनमा यसबाहेक विभिन्न मिश्रित विषयका सत्र समानान्तर रुपमा सञ्चालन हुने सचिवालयले जनाएको छ ।
मन्त्रालयले कोप–२८ को तयारीका लागि वनमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय राष्ट्रिय निर्देशन समिति, वनसचिवको संयोजकत्वमा प्राविधिक समिति र मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुखको अध्यक्षमा कार्यदल गठन गरिसकेको छ ।

यसबाहेक जलवायु वित्त, अनुकूलन, हानि नोक्सानी, उत्सर्जन, हिमाल र जलवायु, लैङ्गिक युवा, जलवायु प्रविधिलगायतका विषयगत समूह गठन गरी नेपालको राष्ट्रिय स्थितिपत्र तयार गर्ने सहसचिव पौडेलले बताए । यसका लागि मन्त्रालयले सहभागितामूलक रुपमा विज्ञ र वैज्ञानिक, सङ्घीय सांसद, निजी क्षेत्र, सङ्घ र प्रदेश सरकारका मन्त्रालय, स्थानीय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, मिडियासँग अन्तरक्रिया गरी स्थित पत्र तयार गर्ने जनाएको छ ।

जलवायुका असर कम गर्ने तथा क्षतिपूर्ति लिनेमा जोड दिनु पर्ने
जलवायु परिवर्तन विषयका विज्ञ मन्जित ढकालले आइसिसिसीको पूर्ण प्रतिवदेन आइसकेको अवस्थामा नेपालले यस सम्मेलनमा आफ्नो मुलुकमा जलवायुका असर कम गर्ने तथा यसको क्षतिपूर्ति लिने अवसरमा रुपमा उपयोग गर्नुपर्ने बताए । उनले नेपालले जलवायुजन्य हानि नोक्सानीलाई कार्यान्यनमा लैजान पहलकदमी लिनुपर्ने र सम्मेलनको साइडलाइन विभिन्न वार्तामार्फत मुलुकको स्रोत जुटाउने अवसरका रुपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन् ।


क्याटेगोरी : ताजा अपडेट
ट्याग : ##cop28, ##Nepal

तपाईको कमेन्ट लेख्नुहोस्