Techie IT
१२ जेठ २०८१, शनिबार

घटयो उत्पादनः कारण जलवायु परिवर्तन । अर्थतन्त्रलाई कठिनाइ


काठमाडौँ : नेपाल जलवायु परिवर्तनबाट हुने प्रभावको उच्च जोखिममा रहेको छ। कृषि, जलस्रोत, वन तथा जैविक विविधता र स्वास्थ्य क्षेत्र जलवायु परिवर्तनका कारण सबैभन्दा जोखिममा छन्।

विश्वबैंकले जलवायु परिवर्तनका कारण नेपाली अर्थतन्त्रका प्रमुख क्षेत्रहरू कृषि, पूर्वाधार संरचना तथा श्रम उत्पादकत्व प्रभावित हुने बताएको छ। मौसममा आएको परिवर्तन–तापमानमा वृद्धि, अनावृष्टि, अतिवृष्टि, बाढीपहिरो, नदी कटान, बालीनालीमा क्षतिले कृषि उत्पादन क्षेत्र निकै नराम्ररी प्रभावित भएको छ। हालैका वर्षमा किसानले बाली लगाउने वेला सुक्खा र खडेरी हुने‚ पाकेर भित्र्याउने तयारी गरिएका बालीनाली बाढी र डुबानका कारण तहसनहस हुँदा ठूलो नोक्सानी बेहोर्नुपरेको छ। यसैगरी मध्य वर्षायाममा लामो समयसम्म खडेरी पर्दा अन्न बाली लगाउन र उब्जाउन सकस भएको छ।

जलवायु विज्ञ डा. धर्मराज उप्रेती जलवायु परिवर्तनको असरसँगै तापक्रम र पानीमा देखिएको परिवर्तन कृषि क्षेत्रको संकट बन्दै गएको बताउँछन्। गत हिउँदमा अघिल्लो वर्षको भन्दा एक प्रतिशत कम अर्थात् २० प्रतिशत पानी पर्‍यो। वर्षामा ८० प्रतिशतको गिरावटसँगै सुक्खापनले वनस्पति मर्ने, इकोसिस्टम र हिउँदे खेती एवं समग्र कृषि प्रणालीमै असर देखियो। पानी कम पर्दा कृषि र वनस्पति प्रणाली, जलाधारमा असर देखियो।

औसतभन्दा कम पानी पर्नु, बढी गर्मी हुनु, तराईमा लू लाग्नु, आगलागीका घटना बढ्नुमा जलवायु परिवर्तनको प्रभाव देखिन्छ। ‘पानी नपर्दा, तापक्रम बढ्दा सुक्खाका कारण बालीनाली परिपक्क नहुँदै सुक्छन्’‚ उनले भने‚ ‘यसले उत्पादन त घट्छ जसले किसानको जनजीविकामा ठूलो धक्का लागेको छ।’

मानवजीवनका लागि नभई नहुने पानीका मुहान धेरै ठाउँमा सुकेका छन्। तापक्रम परिवर्तन हुँदा उच्च हिमाली क्षेत्रमा साविकको जति हिउँ नपर्दा तल्लो तटीय क्षेत्रमा पानीको स्रोतमा ठूलो प्रभाव पर्छ। ‘ऊर्जाका क्षेत्रहरू, खोलानाला सुक्दै जाँदा जलविद्युत् उत्पादनमा पनि धक्का लाग्छ र समग्र अर्थतन्त्र प्रभावित हुन्छ’‚ उप्रेती भन्छन्‚ ‘सरकारले जलवायु परिवर्तनको असर न्यूनीकरणमा लगानी बढाएर काम गर्न नसके हामी सबै जोखिममा हुन्छौँ।’

नेपालको कृषि क्षेत्रले समग्र अर्थतन्त्रमा एकचौथाइ योगदान पुर्‍याउँछ।

एसियाली विकास बैंकले सन् २०५० सम्म जलवायु परिवर्तनका कारण नेपालले वार्षिक कुल गार्हस्थ उत्पादनको २.२ प्रतिशत गुमाउने चेतावनी दिँदै आएको छ। पछिल्ला वर्षहरूमा देशैभर तीव्र रूपमा भइरहेको भूक्षय, बाढीपहिरो र बढ्दो खडेरीका कारण नेपालीको जीवन र जीविकोपार्जनमा प्रभाव पार्दै आएको छ।

तापमान वृद्धिको प्रवृत्ति हेर्दा तराईभन्दा हिमाली र पहाडी भेगमा उच्च पाइएको छ। तापमान वृद्धिका कारण छोटो समयमा धेरै वर्षा, लामो खडेरी, अत्यधिक बाढी, हिमताल विस्फोटन, धेरै दिनसम्म कुहिरो लाग्ने, शीतलहर, जलस्रोत सुक्ने, वन डढेलो लाग्ने तथा नयाँ रोगको प्रकोप बढ्नुका साथै रोगको प्रकोप फैलने जस्ता नकारात्मक असर हुन सक्छन्।

संयुक्त राष्ट्रसंघीय विश्व मौसम संगठनले सार्वजनिक गरेको ‘स्टेट अफ क्लाइमेट इन एसिया–२०२३’ नामक प्रतिवेदनमा जलवायु परिवर्तन र मौसमी प्रकोपका हिसाबले सन् २०२३ मा एसिया सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको उल्लेख छ।

राष्ट्रिय कृषि गणना २०७८ अनुसार ७०.४ प्रतिशत कृषक परिवारको मुख्य आम्दानीको स्रोत खेतीपाती रहेको छ। ४४ प्रतिशत (१८ लाख ७ हजार) किसानलाई मात्र जलवायु परिवर्तनको बारेमा थाहा भएको र ९१ प्रतिशतले जलवायुले खेतीपातीमा प्रभाव पारेको बताएका छन्।

८५ प्रतिशत १३ लाख ८७ हजार कृषकले जलवायु परिवर्तनका कारण उब्जनी घटेको बताएका छन्। उनीहरूको अनुभवमा सबैभन्दा बढी असर कृषि उत्पादनमा ह्रास आएको, रोग र कीरामा वृद्धि, धेरै कम वर्षा, बाली लगाउने समयमा फरक पाएको लगायतका धारणा राखेका थिए। धेरैजसो कृषक धान, मकै र गहुँ लगाउँछन्। मंसिरदेखि चैतसम्म हुने औसत वर्षामा कमी आएका कारणले यी बालीमा प्रत्यक्ष असर पुग्दा मुलुकको समग्र कृषि उत्पादनमा ह्रास आएको छ।

बाढीपहिरोजस्ता प्रकोपले माटोको उर्वराशक्तिमा कमी ल्याई कृषि उत्पादनमा कमी आउँछ। जलवायु परिवर्तनसँगै नयाँ खालका कीटाणु, रोगव्याधि र झार निस्किएर बालीनालीलाई असर पारेका छन्। नेपालमा तापक्रमले सीमा नाघ्न लागिसकेको र वर्षाले पनि सीमा नाघिरहेको अवस्थाले सबैतिर बदली हुन्छ भन्ने संकेत गरिरहेको बताउँछन् अर्का जलवायु विज्ञ नमिन्द्र दाहाल।

‘पहिला माटोमा लामो समय ओस बस्थ्यो, अहिले तुरुन्तै उडेर जान्छ, सुक्खा भइहाल्छ। बिरुवाले चाहिएको समयमा पर्याप्त पोषण नपाउँदा मर्न थाल्छ’‚ उनी भन्छन्‚ ‘आकाशे पानीको भरमा अडिएको हाम्रो कृषि क्षेत्र सिँचाइ नहुँदा माटोको ओस सुकेर मर्ने, फल नलाग्ने र मर्ने गरेको छ। यसअर्थमा जलवायु परिवर्तनले कृषिमा दह्रो असर परेको देखिन्छ।’

नेपाल कृषिप्रधान देश भएकाले देशको अर्थतन्त्र कृषिमा बढी निर्भर छ। नेपालको जम्मा क्षेत्रफल १,४७,१८१ वर्ग कि.मी. मध्ये कृषि क्षेत्रले ३०,९१,००० हेक्टर क्षेत्रफल ओगटेको छ र कृषि मात्रैले देशको कुल गार्हस्थ उत्पादनको ३८.१५ प्रतिशत हिस्सा ओगटेको छ। भारी तथा अनियमित वर्षाका कारण पहाडी भेगमा बारीको सतहको माटोको क्षयीकरण भई उत्पादनमा कमी आउँछ भने कतिपय ठाउँमा पहिरोले खेतियोग्य जमिन ह्रास भएको पाइन्छ।

कृषि गणना २०७८ अनुसार विगत ६० वर्ष (२०१८–२०७८ सम्मको अवधिमा) कृषक परिवार बढ्दै गएका छन्। २०१८ मा खेतीपाती गर्ने कृषक परिवारको संख्या १५ लाख १८ हजार थियो भने २०७८ मा डेढ गुणाभन्दा बढी ४१ लाख ३१ हजार कृषक परिवार खेतीपाती र पशुपन्छी पालन गर्छन्। यद्यपि बाढीपहिरो लगायतका विभिन्न कारणले खेतियोग्य जग्गा घटेको छ। कृषि गणना २०६८ अनुसार २५ लाख २६ हेक्टर जग्गा रहेकोमा सातौँ कृषि गणनाले कृषकले भोगचलन गरेको जग्गा १२ प्रतिशतले घटेर २२ लाख १८ हजारमा झरेको छ।

जलवायु परिवर्तनका कारण समयमा पानी नपर्ने, लामो खडेरी भोगेका किसानले सिँचाइको पर्याप्त सुविधा नपाउँदा पनि उत्पादनमा असर गरेको छ। कुल कृषकमध्ये २८ लाख ८९ हजार परिवारको १२ लाख ९ हजार हेक्टर जग्गामा मात्रै सिँचाइ सुविधा छ। किसानले ट्यूबेल‚ बोरिङ, तलाउ वा पोखरीबाट नहर, कुलोबाट बाँध बाँधेर, रिजर्भ्वायर बनाई त्यहाँबाट पम्पले पानी तानी सिँचाइ गरेका छन्। कृषकले एउटै जग्गामा एकपछि अर्को बाली लगाउँछन् तर जलवायु परिवर्तनको असरका कारण मौसममा अस्वभाविक बदलीका कारण समयमै बाली लगाउन नपाउँदा उत्पादन घटेको पाइन्छ। उन्नत तरिकाले खेती गर्ने प्रचलन बढेको छ, कृषियन्त्र, रासायनिक मल र विषादीको प्रयोग बढेको छ।

भूक्षयबाट जग्गामा धेरै क्षति पुगेको छ। कृषि गणनाका क्रममा कुल कृषक परिवारको ८ प्रतिशत अर्थात् तीन लाख ४६ हजारले भूक्षयबाट आफ्नो जग्गामा क्षति पुगेको बताएका छन् भने ३२ हजार कृषकले रासायनिक र ३ लाख ६२ हजार कृषकले जग्गामा भौतिक क्षति बेहोरेका छन्। हरितगृह टनेल पद्धतिबाट २ प्रतिशत अर्थात् ९७ हजार कृषक परिवारले खेत गरेका छन्। ​रासायनिक पदार्थको बढी प्रयोग तथा तापक्रम वृद्धिले माटोमा पाइने विभिन्न सूक्ष्मजीवको नाश एवं अम्लीयपना बढ्ने, नयाँ किसिमका रोग तथा कीराको प्रकोपले उत्पादनमा ह्रास आएको छ जसले खाद्यान्न असुरक्षाको अवस्था सृजना भएको छ।

हामीले यो सामगी बैशाख २८, २०८१को थाहा खवर बाट लिएका हौ ।


क्याटेगोरी : कृषि, ताजा अपडेट


तपाईको कमेन्ट लेख्नुहोस्