Techie IT
१२ जेठ २०८१, शनिबार

‘राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम’मा के के समावेश छन् ?


काठमाडौँ, सरकारले गत जेठ १ गते सदनमा पस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा “राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम” सञ्चालन गर्ने राष्ट्रपति रामचन्द पौडेलले घोषणा गर्नुभएको छ ।

सो नीति तथा कार्यक्रममा उच्च हिमशृङ्खला र नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकीकृत र सन्तुलित रूपमा सम्बोधन गरिने उल्लेख छ । जलवायुसँग सम्बन्धित अन्तर्राष्ट्रिय कोषको अधिकतम उपयोग गर्न र यस्तो कोषमाथिको अधिकार स्थापित गर्न विशेष प्रयत्न गर्ने पनि सोमा उल्लेख छ । जलवायु वित्तमा सहज पहुँच र निःशर्त प्राप्तिका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा व्यापक पैरवी गर्ने, जलवायु परिवर्तनको कारण पुगेको क्षतिबापत हानी तथा नोक्सानी कोषबाट आर्थिक सहायता प्राप्त गर्न कूटनीतिक पहल गर्ने पनि जोड दिइएको छ ।

उक्त नीति तथा कार्यक्रममा जलवायु परिवर्तनका कारण हिमाली तथा पर्वतीय क्षेत्रमा परेको प्रभावसम्बन्धी मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न नेपालको नेतृत्वदायी भूमिका स्थापित गर्ने पनि उल्लेख गरिएको छ । जलवायु सङ्कटबाट अल्पविकसित तथा हिमाली मुलुकमा उत्पन्न जोखिमबारे विश्वको ध्यानाकर्षण गर्न, संवेदनशीलता जगाउन, सरोकारवाला मुलुकहरूको सञ्जाल निर्माण गर्न र जलवायु वित्तको नतिजामुखी परिचालन गर्न “जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य” विषयमा अन्तर्राष्ट्रिय संवाद आयोजना गर्ने कार्यक्रम पनि उल्लेख छ ।


क्याटेगोरी : ताजा अपडेट, प्रयासहरु


तपाईको कमेन्ट लेख्नुहोस्