३६ प्रतिशतलाई मात्र जलवायु परिवर्तनको सम्बन्धमा जानकारी
सर्वेक्षणको क्रममा करिव ९० प्रतिशतले तापक्रम परिवर्तनको प्रत्यक्ष अनुभव व्यक्त
हालै सार्वजनिक गरिएको राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण सन् २०२२ ले नेपालमा ३६ प्रतिशतलाई मात्र जलवायु परिवर्तनको सम्बन्धमा जानकारी भएको देखाएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको उक्त सर्वेक्षणको प्रतिवेदनअनुसार २६ प्रतिशत महिलामा र ३९ प्रतिशत पुरुषमा जलवायु परिवर्तनसम्बन्धी ज्ञान भएको पाइएको हो । त्यस्ता सुचना तथा ज्ञानमा उत्तर दाताले रेडियो र टेलिभिजनमार्फत ज्ञान प्राप्त गरेको बताएको पाइएको छ ।
प्रतिवेदनमा जनाइए अनुसार उक्त सर्वेक्षणमा २९ जिल्लाका ६ हजार ५२० घरपरिवार सहभागी थिए । सर्वेक्षणका क्रममा अधिकांशले व्यक्तिगत रूपमा जलवायु परिवर्तनको अनुभूति गरेको पनि उल्लेख गरेका छन् । त्यसरी सर्वेक्षणमा सहभागी हुनेहरुले मध्ये, २५ प्रतिशतले जलवायु परिवर्तन हुनुको मुख्य कारण वन विनास भएको जवाफ दिएका छन् । यद्यपि नेपालमा तुलनात्मक रुपमा बनको आवादी भने बढीरहेको छ । त्यस्तै, औद्योगिकीकरण, सहरीकरण र अन्य मानवीय कारणहरूले पनि जलवायु परिवर्तन भइरहेको सर्वेक्षणमा सहभागीहरूले बताएका छन् ।
सर्वेक्षणका क्रममा १३ प्रतिशतले प्राकृतिक प्रकोपको सम्बन्धमा रेडियोमार्फत पूर्वसूचना लिने गरेको पनि देखिएको छ । सर्वेक्षणको क्रममा करिव ९० प्रतिशतले तापक्रम परिवर्तनको प्रत्यक्ष अनुभव गरेको बताएको उल्लेख छ ।
क्याटेगोरी : ताजा अपडेट
ट्याग : ##jalabayu, ##Nepal, #2022, #climate, #climate change report
तपाईको कमेन्ट लेख्नुहोस्