Techie IT
१२ जेठ २०८१, शनिबार

जलवायु परिवर्तनको प्रभाव रोक्न तत्काल काम नगरे धेरै ढिलो हुनेः जलवायु वैज्ञानिकहरु


द इन्टरगभरमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आईपीसीसी) अर्थात जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी सञ्जालले गत महिना सार्वजनिक गरेको प्रतिवेदनले विश्वव्यापी रूपमा कार्बनडाइअक्साइड सहितका हरितगृह ग्यासको उत्सर्जन कटौती, अनुकूलन प्रयासको गतिलाई तीव्र बनाउनुपर्ने जोड दिएको छ ।

आईपीसीसीको छैटौं असेस्मेन्ट रिपोर्ट (एआर–६) को चौथो तथा अन्तिम संस्करण ‘सिन्थेसिस रिपोर्टः क्लाइमेट चेन्ज २०२३’ सार्वजनिक गर्दै विश्वका प्रमुख जलवायु वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण देखिएका स्पष्ट गम्भीर असरबाट जोगाउनका लागि ‘तत्काल काम गरौं, नभए निकै ढिला हुनेछ’ भन्ने चेतावनी सहितको सन्देश दिएका छन् ।

स्वीट्जरल्यान्डमा सार्वजनिक गरिएको प्रतिवेदनबारे संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले यो रिपोर्ट ‘मानवताको रक्षाका लागि मार्गनिर्देशन’ रहेको बताएका थिए । यो जलवायु परिवर्तनको प्रभावबाट अहिले र भावी पुस्तालाई जोगाउन महत्वपूर्ण रहेको भन्दै उनले जलवायु न्यायलाई केन्द्रमा राखेर महत्त्वाकांक्षी कार्यका लागि सहकार्य गर्न विश्वका राष्ट्र तथा नेतासँग अपील गरेका थिए ।

सो प्रतिवेदनमा हरितगृह ग्यासको उत्सर्जन सन् २०३० सम्म अहिलेको तुलनामा आधाले कटौती नगरिए तापक्रमवृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य पूरा नहुने उल्लेख छ । जलवायु परिवर्तनसम्बन्धी सन् २०१५ मा भएको पेरिस सम्झौतामा गम्भीर सङ्कटबाट पृथ्वीलाई जोगाउन यो शताब्दीको अन्त्यसम्म विश्वव्यापी तापक्रम वृद्धि औद्योगिक युगपूर्वको तुलनामा १.५ डिग्री सेल्सियसमा सीमित गर्नुपर्ने लक्ष्य राखिएको छ । औद्योगिक युगपूर्वको तुलनामा हाल पृथ्वीको तापक्रम १.१ डिग्री सेल्सियसले वृद्धि भइसकेको आईपीसीसीको प्रतिवेदनमा उल्लेख छ ।

६ गुणासम्म लगानी बढाउनुपर्ने
उत्सर्जन कटौतीसँगै जलवायु परिवर्तनसँग जुध्न अनुकूलन तथा न्यूनीकरण सहितका प्रयासमा हुने लगानी बढाउनुपर्ने वैज्ञानिकहरूले सुझाएका छन् । अहिले भइरहेको भन्दा तीनदेखि ६ गुणासम्म बढी लगानी जलवायु परिवर्तनको क्षेत्रमा चाहिएको जनाइएको छ ।

आईपीसीसीका अध्यक्ष होइसङ लीले लगानी बढाएर मात्रै नहुने त्यसको वितरण आवश्यकता र जोखिमका आधारमा गरिनुपर्ने बताएका छन् । “प्रभावकारी र समतामूलक जलवायु कार्यले प्रकृति र मानवमाथि भइरहेको हानि–नोक्सानी मात्रै कम गर्ने छैन, यसले बृहत् मुनाफा पनि प्रदान गर्नेछ । यो प्रतिवेदनले भने अनुसार हामीले अहिले महत्त्वाकांक्षी कार्य गर्न सक्यौं भने अझै पनि जीवनयोग्य दिगो भविष्य प्राप्त हुनेछ,” लीले भनेका छन ।

विश्वको झन्डै आधा जनसंख्या जलवायु परिवर्तनका कारण उत्पन्न हुने गम्भीर असरहरूको उच्च जोखिम क्षेत्रमा रहेको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो दशकमा बाढी, खडेरी, आँधी सहितका गतिविधिका कारण उच्च जोखिममा रहेका क्षेत्रमा मानवीय क्षेत्री अरू क्षेत्रको तुलनामा १५ गुणा बढी रहेको आईपीसीसी प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन लेखनका ९३ लेखक वैज्ञानिकमध्येकी अदिति मुखर्जीले भनेकी छन्, “जलवायु न्याय निकै महत्त्वपूर्ण छ किनकि जसले सबैभन्दा कम भूमिका छ, उनीहरू सबैभन्दा बढी प्रभावित छन् ।” नेपाल पनि विश्वव्यापी जलवायु परिवर्तनमा गौण भूमिका खेल्ने भए पनि उच्च जोखिम रहेका देशमा पर्छ ।

विकल्पः जलवायु उत्थानशील विकास
मानवीय गतिविधिका कारण भइरहेको जलवायु परिवर्तनको प्रभाव सघन बनेको र यो बाढी तथा खडेरीका रूपमा देखिएको प्रतिवेदनमा उल्लेख छ । यसले विश्वव्यापी रूपमा पानीको सुरक्षा तथा खाद्य उत्पादनमा नै गम्भीर प्रभाव पारेको भन्दै जलवायु उत्थानशील विकास त्यसको विकल्प रहेको वैज्ञानिकले बताएका छन् ।

स्वच्छ ऊर्जा तथा प्रविधिमा हुने पहुँचले विशेषगरी महिला तथा बालबालिकाको स्वास्थ्य सहितमा राम्रो प्रभाव पार्ने उल्लेख गरिएको छ। न्यून कार्बन सहितको विद्युतीकरण, हिंड्ने बानीको विकास, सार्वजनिक यातायातलाई प्राथमिकता दिंदा वायुको गुणस्तर सुधार हुने र त्यसले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्ता गतिविधिलाई केन्द्रमा राखेर विकासका काम गर्नुपर्नेमा जोड दिइएको छ ।


क्याटेगोरी : ताजा अपडेट


तपाईको कमेन्ट लेख्नुहोस्