Techie IT
१२ जेठ २०८१, शनिबार

बढ्दो जोखिम कम गर्ने उपाहरु यस्ता छन्

वैज्ञानिकहरुका अनुसार हरेक मानिसको जीवनमा केही स साना परिवर्तन गर्नेहो भने पनि यसले जलवायु परिवर्तनलाई कम गर्न मद्दत गर्दछ


मानवीय गतिविधिहरुका कारण विश्वको तापमान बढिरहेको छ र जलवायु परिवर्तनले मानिसको जीवनका हरेक पहलुहरुलाई खतरातर्फ धकेलिरहेको छ ।

यदि यो मुद्दालाई यत्तिकै अनियन्त्रित रुपमा छाडिदिने हो भने मानिस तथा प्रकृतिले विनाशकारी तातो वायुको लहर तथा सुख्खा र गर्मीको सामना गर्नुपर्नेछ भने समुद्रको जलस्तर बढ्नुका साथै व्यापक रुपमा जैविक विविधताको विलोपन हुनेछ ।

वास्तवमा जलवायु परिवर्तन दुनियाँका सामुन्ने देखा परेको एउटा भयानक चुनौती हो । यद्यपि यो चुनौतीको सामना गर्ने उपायहरु नभएका होइनन् ।

जलवायु परिवर्तन के हो ?

कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई नै जलवायु भनिन्छ । जब त्यही जलवायुको अवस्थामा दीर्घकालीन परिवर्तन आउँदछ, त्यसलाई नै जलवायु परिवर्तन भनिन्छ । यो वर्षा, तापक्रम, आद्रता, वायुको गति आदिजस्ता जलवायुजन्य उपागमहरुमा आउने दीर्घकालीन तथा प्रतिकुल अवस्थाको परिवर्तन हो ।

अहिले विश्वको जलवायुमा जुन तीव्र परिवर्तन देखिइरहेको छ त्यो मानिसले आफ्नो घर, कारखाना तथा परिवहनका लागि प्रयोग गरिएको पेट्रोलियम, ग्यास तथा कोइलाको उपयोगका क्रममा उत्सर्जित हरितगृह ग्यासका कारण भएको हो ।

जब यी जिवाश्म इन्धनहरू दहन हुन्छन् तब त्यसबाट हरितगृह ग्यासहरु निस्किन्छन्, जसमा सबैभन्दा ठूलो हिस्सा कार्वनडाइ अक्साइडको रहेको हुन्छ । यी ग्यासहरुका कारण विश्वको तापक्रममा बढोत्तरी हुने मात्र होइन पृथ्वीको सुरक्षा कवचको रुपमा रहेको ओजोन तहमा पनि क्षति पुर्‍याउँदछन् ।

ओजोनको पत्रमा प्वाल पर्दा सूर्यको परावैजनी किरणसहित अत्यधिक तापक्रम पृथ्वीमा आउँदछ, जसले पृथ्वीमा तापक्रम बढाउने काम गर्दछ । यद्यपि तापक्रम वृद्धिको मूख्य कारण चाहिँ हरितगृह ग्यासका कारण सिर्जित हरिगृह प्रभाव नै हो ।

बढ्दो तापमानका कारण हिमनदीको हिउँ तीव्र रुपमा पग्लिरहेको छ भने समुद्रको जलस्तर पनि बढिरहेको छ ।

१९औं शताब्दीको तुलनामा विश्वको तापक्रम हाल १.१ डिग्री सेल्सियस भन्दा अधिक वृद्धि भैसकेको छ र वातावरणमा कार्वनडाइ अक्साइडको मात्रामा ५० प्रतिशतले वृद्धि भएको छ ।

जलवायु वैज्ञानिकहरुका अनुसार यदि विश्वलाई जलवायु परिवर्तनका सबैभन्दा खराब परिणामबाट बचाउने हो भने तापमान वृद्धिमा नियन्त्रण गर्नु आवश्यक हुन्छ ।

पेरिस जलवायु सम्झौताले पनि विश्वलाई विनासबाट बँचाउनका लागि सन् २१०० सम्ममा विश्वको तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा राख्ने लक्ष्य लिएको छ ।

तर यदि उक्त लक्ष्य प्राप्तिका लागि विश्वका मुलुकहरुले प्रभावकारी कदम नचाल्ने हो भने तापक्रम वृद्धि छिटै नै २ डिग्री सेल्सियसभन्दा धेरैले बढ्ने पक्का रहेको वैज्ञानिकहरुको भनाइ छ ।

स्वतन्त्र क्लाइमेट एक्सन ट्रयाकर ग्रुपको सन् २०२१ को रिपोर्ट अनुसार यो शताब्दीको अन्त्यसम्ममा विश्वको तापक्रम २.४ डिग्री सेल्सियसले बढ्ने खतरा समेत रहेको छ ।

यदि हतिरगृह ग्यासको उत्सर्जनमा कमी ल्याउनका लागि प्रभावकारी कदम नचालिएमा विश्व उष्णणीकरण ४ डिग्री सेल्सियस पनि नाघ्नसक्ने खतरा रहेको वैज्ञानिकहरु बताउँछन् । यसले भयानक गर्मीको लहर उठ्नेछ भने लाखौं मानिसहरुले समुद्रको बढ्दो जलसतहमा आफ्ना वासस्थानहरु गुमाउनेछन् । यसले जीव तथा वनस्पतीका लाखौं प्रजातिहरुलाई अपूरणीय क्षति पुग्नेछ ।

जलवायु परिवर्तनका प्रभावहरू

विश्वमा प्रतिकूल मौसमी घटनाहरु पहिलेभन्दा तीव्र बनिरहेका छन् जसबाट जीवन तथा जीविकोपार्जनमाथि नै खतरा पैदा भएको छ । पृथ्वीमा तीव्र रुपमा तापक्रम बढ्नाले धेरै क्षेत्रहरु मरुभूमिमा परिणत हुनेछन् ।

पूर्वी अफ्रिकामा लगातार पाँचौ वर्ष पनि वर्षा भएन । लगातारको सुख्खा खडेरी अर्थात् अनावृष्टिका कारण पूर्वी अफ्रिकाका २ करोड २० लाख मानिसहरू भोकमरीको खतरामा परेको संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले जनाएको छ ।

अत्यधिक तापक्रमले डढेलोको प्रकोप बढाइरहेको छ, गत वर्षको गृष्मयाममा युरोपमा इतिहासकै भयानक डढेलोको प्रकोप देखिएको थियो । फ्रान्स तथा जर्मनीमा यसअघिको औसतको तुलनामा सन् २०२२ को जनवरी तथा जुलाई महिनाको बीचमा झण्डै ७ गुणा बढी क्षेत्रमा डढेलो लागेको थियो ।

गर्मी बढ्नुुको अर्थ ध्रुवीय क्षेत्र तथा उच्च हिमाली क्षेत्रहरुमा जमेको बरफ तीव्र रुपमा पग्लिनु र समुद्रको जलस्तर बढ्नु पनि हो ।

कतिपय ठाउँहरुमा भने अतिवृष्टिको कारण गतवर्ष चीन, पाकिस्तान तथा नायजेरियालगायतका मुलुकहरु इतिहासकै भयानक बाढीबाट प्रताडित बने ।

विकासशील मुलुकहरुमा बसोबास गर्ने मानिसहरुले जलवायु परिवर्तनबाट सबैभन्दा धेरै क्षति बेहोर्नुपर्नेछ । किनकि उनीहरुसँग जलवायु परिवर्तनको सामना गर्नका लागि स्रोत र साधनको कमी छ । विकसित मुलुकहरुको तुलनामा हरितगृह ग्यास उत्सर्जनमा निकै कम भूमिका रहेका ती मुलुकहरुले जलवायु परिवर्तनका असरहरु भने धेरै भोग्नु परिरहेको छ ।

जलवायु परिवर्तनका कारण पृथ्वीको महासागर तथा जलीय जीवन पनि खतरामा परिरहेको छ । अमेरिकाको राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय विभागले सन् २०२२ को अप्रिलमा प्रकाशित गरेको एक शोध प्रतिवेदन अनुसार १० प्रतिशत देखि १५ प्रतिशत सम्म सामुद्रिक प्रजातिहरू लोप हुने खतरा छ । तीव्र रुपमा तातिरहेको पृथ्वीमा जीवहरुका लागि आवश्यक खाना तथा पानी फेला पार्न पनि मुस्किल हुनेछ ।

उदाहरणका लागि तापक्रम वृद्धिका कारण ध्रुवीय हिउँ पग्लिंदा पोलार भालुको प्रजाति नै संकटमा पर्न सक्दछ । साथै एउटा हात्तीलाई दैनिक आवश्यक पर्ने डेढ सयदेखि ३ सय लिटर पानी पाउनै मुस्किल पर्न सक्दछ ।

आवश्यक कदम नउठाउने हो भने यो शताब्दीको अन्त्यसम्ममा ५५० प्रजातिहरु लोप हुनसक्ने चेतावनी वैज्ञानिकहरुको छ ।

जलवायु परिवर्तनका फरक फरक प्रभाव

विश्वमा जलवायु परिवर्तनका भिन्न भिन्न प्रभाव हुनेछन् । संयुक्त राष्ट्रसघको जलवायु निकाय आईपीसीसीका अनुसार यदि विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न नसकिएमा यस्ता असर देखिनेछन् :

  • बेलायत तथा युरोप अत्यधिक वर्षाका कारण भयानक बाढीको चपेटामा पर्नेछ
  • मध्यपूर्वका देशहरुले अत्यधिक गर्मीको लहरका कारण व्यापक सुख्खा खडेरीको सामना गर्नुपर्नेछ
  • प्रशान्त क्षेत्रका टापु राष्ट्रहरु समुद्रमा डुब्न सक्नेछन्
  • विभिन्न अफ्रिकी देशहरुले खडेरी तथा खाद्यान्नको अभावको सामना गर्नुपर्नेछ
  • पश्चिमी अमेरिकामा खडेरीको सम्भावना हुनुका साथै अत्य क्षेत्रमा धेरै तीव्र आँधीहरू आउनेछन्
  • अष्ट्रेलियामा अत्यधिक गर्मी तथा जंगलमा लाग्ने डढेलोका कारण जनधनको क्षतिको खतरा बढ्नेछ

के गर्दैछन् विश्वका सरकारहरु ?

विश्वका मुलुकहरुले हातेमालो गरेर एकसाथ कदम चालेमा मात्रै जलवायु परिवर्तनसँग जुध्न सकिन्छ भन्ने कुरामा विश्व समुदाय एकमत छ । सन् २०१५ मा भएको पेरिस सम्झौतामा पनि विश्व उष्णीकरणलाई १.५ डिग्री सेल्सियस सम्म कायम राख्ने संकल्प गरिएको थियो ।

सन् २०२२ को नोभेम्बरमा इजिप्टमा भएको कोप २७ मा समेत विश्वका नेताहरुले जलवायु परिवर्तन रोक्नका लागि नयाँ प्रतिबद्धता जनाएका थिए ।

विभिन्न देशहरुले सन् २०५० सम्ममा शून्य कार्वन उत्सर्जन अर्थात् नेट जिरोको लक्ष्य हासिल गर्ने संकल्प गरेका छन् । यसको अर्थ हरितगृह ग्याँस उत्सर्जनलाई जति सकिन्छ त्यति कम गर्नु र बाँकी उत्सर्जनलाई वातावरणमा पूरै अवशोषण गरेर सन्तुलित राख्नु हो ।

विज्ञहरुका अनुसार पर्यावरणलाई यी यावत् खतराहरुबाट अझै पनि जोगाउन सकिन्छ । तर यसका लागि सरकार, उद्योगी व्यापारी तथा आम नागरिकहरुले व्यापक रुपमा आफ्ना व्यवहारहरुमा परिवर्तन गर्नु आवश्यक छ ।

व्यक्तिगत रुपमा के गर्न सकिन्छ ?

जलवायु परिवर्तन रोक्नका लागि ठूलो भूमिका सरकार तथा उद्योग व्यवसायको रहेको छ । तर वैज्ञानिकहरुका अनुसार हरेक मानिसको जीवनमा केही स साना परिवर्तन गर्नेहो भने पनि यसले जलवायु परिवर्तनलाई कम गर्न मद्दत गर्दछ । यस्ता प्रयासहरुमा :

  • हवाई जहाजको यात्रा कम गर्ने
  • जिवाश्म इन्धनबाट चल्ने गाडीको प्रयोग नगरी विद्युतीय गाडीको प्रयोग गर्ने
  • मासु तथा दुग्धजन्य पदार्थको उपयोग कम गर्ने
  • ऊर्जा खपत घटाउने, किफायती बनाउने
  • आफ्नो घरको उर्जाको चुहावट घटाउने
  • ग्रार्हस्थ प्रयोगमा आउने ग्याँसलाई बिजुलीले विस्थापित गर्ने । आदि

बीबीसीबाट


क्याटेगोरी : विचार


तपाईको कमेन्ट लेख्नुहोस्