Techie IT
१२ जेठ २०८१, शनिबार

पैसा तिरेर रोग किन्ने ?


केही महिनाअघि मेरी एक साथी फिनल्यान्ड गएकी थिइन् । दस दिनको बसाइँपछि उनी काठमाडौं फर्केर भेटेपछि मैले सोधें, ‘मलाई के ल त फिनल्यान्डबाट उपहार ?’ ‘तिमीलाई पाउरोटी ल्याइदिएकी छु,’ उनको भनाइले मनै अमिलो भयो । ‘त्यति टाढाबाट जाबो पाउरोटी । त्यो त म यहीं पाउँथें नि,’ मनमनै सोचें । उनले पाउरोटी दिएपछि पो आनन्द लाग्यो । यो त काठमाडौंमा पाउने मैदाले भनेको सेतो पत्रु पाउरोटी होइन, उवाले बनेको अति स्वास्थ्यकर पाउरोटी पो रहेछ ।

‘फिनल्यान्डमा त सेतो पाउरोटी खाँदैनन् । सरकारले त्यहाँका जनताको स्वास्थ्य राम्रो होस् भनेर पत्रु खानामा बढी कर लगाएको छ । र, स्वास्थ्यकर खाना खान प्रेरित गर्छ,’ म आफैं 12 वर्षअघि फिनल्यान्ड जाँदा एक नर्सले भनेको कुरा याद आयो । अनि पो मेरी साथीले ल्याइदिएको उपहार खुसी भएर लिएँ, त्यो उपहार पाएपछि मलाई मनमा झल्यास्य भयो, यस्तो राम्रो र पौष्टिक उवा त नेपालको मुस्ताङ, मनाङ, कर्णालीमा त पर्याप्त पाइन्छ तर ‘नजिकको तीर्थ हेला’ भनेझैं, त्यो उवाको महत्त्व नजानेरै होला, उवा अहिले कर्णालीमै अपहेलित छ ।

काठमाडांैका मानिसलाई त उवाको बारेमा कुराकानी गर्यो भने कतिले त ‘खुवा’ भनेर सुन्दा रहेछन् ।

पहिलेपहिले मुस्ताङतिरको यात्रा गर्दा भरियाले उवाले बनेको चम्पा ( पीठो) आफूसँग लैजान्थे । भोक लागे त्यही पानीमा घोलेर खान्थे । ६–७ घण्टा हिँड्न ऊर्जा सँगाल्थे । अहिले बाटो गएपछि त चाउचाउ र चिसो खान्छन् । अनि पैसा दिएर मुटुको रोग किन्छन् ।

उवा, किनुवा,, चिनो आदि जस्तो अन्नलाई बिर्सेर चाउचाउ स्वाद खोज्नेहरूलाई थाहा छैन कि यसो गरिरहँदा उनीहरूले कस्तूरी मृगझंै नाभिमा भएको सुगन्ध थाहा नपाएर, सुगन्ध खोज्न कताकता हिँडिरहेछन् ।

केही बर्ष पहिले जुम्ला गएको बेला काठमाडौंबाट कोदो र फापरको २० वटा जति रोटी बनाएर लगेको थिएँ । ७ दिनसम्मको यात्रामा मेरो खाजा त्यही रह्यो । जुम्लाको होटलमा कोदोको रोटी बन्दैन रहेछन्, मैले चिया मगाएर झोलाबाट रोटी निकालेर चियासँगै चोप्दै खाँदा कति जनाले मलाई अचम्मको नजरले हेरेका थिए । चियामा बिस्कुट नचोपेर, कोदोको कालो रोटी चोपेको देखेर होला ।

यात्रामा सँगै हिँडेका एक जनाले त भनी पनि हाले ‘काठमाडौंबाट ल्याएको यो रोटी बासी भएन र ? बासी नखानू भन्ने अरूलाई, अनि आफूचाहिँ बासी खाने ? ‘तपाईंले पसलमा किन्ने बिस्कुट, चाउचाउ, कुरमुरेचाहिँ बासी हुँदैनन् । मैले घरमा बनाएर ल्याएको कसरी बासीे, ?’ मैले भनें उनीहरूलाई मैले जुम्लाको एक पसलमा किनेको रु. ५ जाने दालमोठको पोको देखाएँ, बदाममा ढुसी लागेको थियो मैले भनें, ‘यहाँका बच्चाहरूले यस्तै ढुसी लागेको बदाम खान्छन् । अनि कलेजोको रोगी बन्छन् । यस्तो दालमोठ त कुहिएको फालेको दालमोठ जम्मा गरेर बनाइन्छ । त्यस्तो कुरा थाहा छ कि छैन । यहाँका जनतालाई ?’

‘त्यसो भए सरकारले किन प्रतिबन्ध लगाउँदैन त यस्तो कुरालाई,’ धेरैले बारम्बार भने । ‘सरकारले त चुरोट र रक्सीमा पनि प्रतिबन्ध लगाएको छैन । के बालबालिकालाई त्यो किनेर खान दिने त ?’ मेरो प्रश्नले प्राय: सबैको मुखमा बुजो त लाग्छ तर प्राय: सबै जना फेरि बजारको दालमोठ, चाउचाउ, बिस्कुट किनेर भक्कुमार खान्छन्, कर्णालीमा बच्चालाई दिन्छन् । पैसा तिरेर रोग किन्छन् । यिनीहरूलाई हेर्दा लाग्छ आफ्नो घरमा फल्ने उवा, कोदो, फापर च्युरालाई अपहेलना गरेर यिनले नजिकको तीर्थ हेला गरेका छन् ।

सायद बिदेशी मानिसहरू आएर कर्णाली, मुस्ताङ र मनाङको जौ , उवा, कोदो , फाफर किन्न थाले भने अनि यहाँका सांसदहरू जुर्मुराउनेछन् । ‘ओहो! उवा, उवा, कोदो , फाफर भनेको त बडो स्वस्थ वस्तु रहेछ, यसले त स्वास्थ्य र आर्थिक स्थिति दुवै राम्रो हुँदो रहेछ । लौ फलाऔं ।’

अनि काठमाडौंका मन्त्रीहरू पनि एक दिन कर्णाली, मुस्ताङको खेतमा गएर कोदो , फाफर उवाको बारेमा लामो भाषण गरेर दिवस मनाइदिनेछन् । बल्ल अनि नेपालीहरूले कोदो , फाफर उवा खाने बानी गर्लान् कि ?

क्याटेगोरी : विचार


तपाईको कमेन्ट लेख्नुहोस्