जलवायु संकटसँग जुध्न यसो गरौं
विश्वकै तापक्रम बढीरहेको हामी प्रायले सुनिरहेका छौं । प्रत्येक दशक केही न केही मात्रामा तापक्रम बढेको अध्ययनहरुले देखाएका छन् । तापक्रम वृद्धिको मुख्य जिम्मेवार मानव क्रियाकलाप हुन् । हरित गृह ग्याँस तथा कार्वन उत्सर्जनले तापक्रम बढाउनमा भूमिका निर्वाह गरेका छन् । खनिज तेलको प्रयोग र वन विनास, दाउरा बाल्नु तथा फोहोरको डुङ्ग्रो तथा रासायनिक मल एव्म विषादीको प्रयोगका कारण निस्कने ग्याँसले पृथ्वीको तापक्रममा वृद्धि गराएका हुन् ।
उद्योग, यातायातका साधन, खनिज तेल, ग्याँस र दाउरा तथा कोइलाको प्रयोगले पृथ्वीको तापक्रम १.२ डिग्री सेल्सियसले बढी तातो भइसकेको छ । समयमै जिम्मेवार पहल गरिएन भने मानव समाज र पृथ्वीका जीवहरुले भयानक दुर्घटना भोग्नु पर्ने दिन आउन सक्छ ।
तापक्रम वृद्धिले हिमालहरु पग्लने छन् । समुद्र वरपरका बस्तीहरु डुवानमा पर्न सक्छन् । खडेरी र सख्खापन बढ्ने, जंगलमा आगलागी हुन सक्ने तथा चरम गर्मीले मानव जीवन अस्त व्यस्त हुन सक्ने छ । बाढी तथा पहिरोले बिच्लली पार्न सक्छ । चराचुरुगी विलाउन सक्छन् । माछाहरु हराउन सक्छन् । त्यस्ता धेरै नसोचिएको घटनाहरु त्था जोखिम निम्त्याउन सक्छन् ।
हुनत जलवायु विज्ञ तथा अभियन्ताहरुले १.५ डिग्रीसम्म वृद्धि भएको तापक्रम पृथ्वीका लागि सुरक्षित माने पनि यो शताब्दीको अन्त्यतिर ३ डिग्री सेल्सियस बढ्न सक्ने गरी गरेको अनुमान सही हुन गए यसले अकल्पनीय क्षती पु¥याउनेछ । मानवजातीको अस्तित्व नै संकटमा पर्न सक्ने चेतावनी पहिल्यै दिइसकेका छन् ।
समयमै जिम्मेवार पहल गरिएन भने मानव समाज र पृथ्वीका जीवहरुले भयानक दुर्घटना भोग्नु पर्ने दिन आउन सक्छ ।
सतही रुपमा सुन्दा जलवायु परिवर्तन या तापक्रम वृद्धिले नेपाललाई खास असर नपर्ने सोच पाइन्छ । त्यसो त हरित गृह ग्याँस कार्वन उत्सर्ननमा नेपालको कुनै योगदान छैन । बरु त्यस्तो उत्सर्जनमा धनी, विकसित र शक्ति राष्ट्रहरुनै जिम्मेवार छन् र यो उनीहरुकै औद्योगिक विकासको देन हो । ती देशका कारण समग्र पृथ्वीकै तापक्रम बढ्न गएको हो । जसको कारण नेपाल लगायत अन्य कम विकसित देश तथा अफ्रिकी मुलुकहरुमा भयानक असर पर्न जाने देखिएको छ भने केही गंभीर प्रभावहरु देखापर्न थालिसकेका छन् । पाकिस्तानमा गएको बाढी र त्यसले पुर्याएको क्षती हालैको एउटा उदाहरण हो । नेपालमा गत कार्तिकमा परेको अवरिव वर्षा र त्यसले ल्याएको बाढी लाई पनि लिन सकिन्छ । त्यसैले नागरिक तथा सरोकारवाला सबैले ढिलो नगरी यो संकटको सामाना गर्न उत्पेरित हुनुपर्छ ।
त्यसो भए अब के गर्ने त ?
जलवायु परिवर्तनको असरलाई कम गर्नु मुख्य रुपमा दुईवटा उपाय छन् । पहिलो, यसको असरलाई न्यूनीकरण गर्नु । हरित गृह ग्याँसको उत्सर्जनमा कमी ल्याउनु पर्छ । त्यसका लागि यस्तो ग्याँस सोस्न सक्ने बोटविरुवा रोप्ने तथा भएकालाई जोगाउनु पर्छ । बोट विरुवाको संख्या बढेमा वायुमण्डलमा रहेको हरित गृह ग्याँसको मात्रामा कमी हुन जान्छ । यस्ता बोटविरुवाले वायुमण्डलमा भएको कार्वन डाइअक्साड ग्याँस सोस्ने हुनाले वनजंगलको संरक्षण गर्नुका साथै वृक्षारोपण बढाउँदै जानुपर्छ । विद्युतीय उर्जाबाट चल्ने सवारी साधनको प्रयोग बढाउनु पर्छ । खेतवारीमा रासायनिक मलको प्रयोग कम गर्नुपर्छ । दैनिक जीवनमा प्रयोग गर्ने सामग्रीहरुको पुनः प्रशोधन गर्न मिल्ने, पुनः प्रयोग गर्न मिल्ने खालको यवस्था गर्नुपर्छ । उद्योग या कलकारखानामा प्रयोग हुने पेट्रोलियम पदार्थ जस्तै डिजेल, पेट्रोल तथा मटितेत एव कोइलाहरुको प्रयोगलाई घटाउनु पर्छ । त्यस्तो पदार्थहरुको खपत कम गर्ने प्रविधिको उपयोग गर्नुपर्छ । यसका लागि नवीकरणीय उर्जा विकल्प हुन सक्छ । जसमा सौर्य या विद्युत उर्जाको प्रयोग लाभदायी हुन्छ ।
त्यस्तै अर्को हो अनुकुलनका उपायहरु अवलम्बन गर्नु । जसअन्तर्गत परिवर्तित जलवायुको अवस्थामा मानिसहरुको जीवनयापनलाई सहज बनाउन सोहीअनुसार गरिने विभिन्न क्रियाकलापहरु पर्दछन् । यसमा अल्पकालीन र दिर्घकालीन दुवै खालका कामहरु पर्दछन् । पहिलो त, जलवायु विपद्ले ल्याउन सक्ने संभावित विपद्का जोखिमबाट मानिस तथा उनीहरुको समुदायलाई जोगाउन प्राकृतिक प्रकोपसँग लड्ने तागतको विकास गरिनु पर्दछ । उनीहरुले त्यस्तो विपद्को सामनाका लागि पूर्व तयारी र अभ्यास गरेको हुनुपर्छ । बाढी पहिरो नियन्त्रण, अस्थायी आवासका लागि स्थानहरुको चयन, आवश्यक सर सामानहरुको जोहो गर्नुपर्छ । त्यस्तै किसानहरुले लगाउँदै आएको खेतीपातीको ढाँचामा फेरबदल गर्नु पर्ने हुनसक्छ । बिउ विजन तथा बालीका जातहरु पनि रोगहरुसँग लड्न सक्ने खालको विकास गरिनुपर्छ । आम मानिसहरु खासगरि विद्यार्थीहरुमा यसबारे चेतना जगाइनु पर्छ । जलवायु परिवर्तनले गरीव तथा कमजोर परिवारलाई सवैभन्दा बढी मारमा पार्ने छ । तिनमा पनि बालिका, किशोरी तथा महिलाहरुले बढी कठिनाइ झेल्नु पर्ने हुन सक्छ । त्यसैले यो विषयमा सवै विकासका निकाय तथा विषयगत क्षेत्रहरुले जलवायुको सवाल सम्बोधन हुने गरी आफ्नो विकासका कार्यहरु निर्धारण र एकीकृत गरिनुपर्छ । स्थानीय पाठ्यक्रममा जलवायु परिवर्तन र यससँग लड्ने उपायहरु समावेश गरि व्यवहारिक ज्ञान प्रदान गरिनुपर्छ ।
जलवायु परिवर्तनले गरीव तथा कमजोर परिवारलाई सवैभन्दा बढी मारमा पार्ने छ
स्थानीय सरकार तथा जनप्रतिनिधिहरुलाई यसबारे प्रशिक्षण दिई आफ्नो टोल तथा वडामा जलवायु परिवर्तत र यसले सृजना गर्न सक्ने समस्यासँग जुध्न स्थानीय समुदायको सहभागितामा कार्यक्रमहरु तय गरी सोको कार्यान्वयनका लागि बजेटको व्यवस्था गरिनुपर्छ । साथै, जलवायु परिवर्तनलाई सम्बोधन गर्न सक्ने खालका विद्यमान ज्ञान तथा सीपको प्रचार प्रसार गर्ने, अभिलेख तयार गर्ने र कार्यान्वयनमा ल्याउने सुनिश्चितता स्थानीय तहले गर्नैपर्छ । जलवायु संकटले विश्वव्यापी रुपमा पार्न सक्ने प्रभावबारे खुला छलफल गर्दै आफ्नो समुदायमा अनुकुलनका अनेकौ उपायहरुको खोजी गर्न ढिला गरिनु हुन्न ।
ढिला नगरी इमानदार पहल
यो पृथ्वी हामी बाँचुन्जेलको लागि मात्र होइन । आगामी पुस्ताका लागि पनि सुरक्षित तवरमा हस्तान्तरण गर्नुपर्छ । यो दायित्व हामीले लिनैपर्छ । जलवायु संकट चिर्न आफ्नो व्यक्तिगत तथा सामुहिक पहल थालौं । यसका लागि सहकार्य गरौं । अहिलेको आवश्यकता भनेकै जलवायु परिवर्तन किन भइरहेछ, यसले हामी र आउने पुस्तालाई कस्तो प्रभाव पार्न सक्ला र त्यसका लागि हामीले के के गर्नु पर्छ भनेर कुराकानी सुरु गरिहाल्नु पर्छ । त्यसका लागि हामी संवेदनशील भइ इमानदार पहल लिनुपर्छ, जुन अहिलेको खाँचो हो । ढिला नगरौं ।
क्याटेगोरी : विचार
ट्याग : #जलवायु, #जलवायु खवर, #नेपाल
तपाईको कमेन्ट लेख्नुहोस्